नियम १२
भिसा दिने र नवीकरण गर्ने अधिकारी
(१) देहायको भिसा देहायको अधिकारीद्वारा दिइने र नवीकरण गरिनेछ ।भिसाको किसिम भिसा दिने र नवीकरण गर्ने अधिकारी
(क) कूटनैतिक भिसा परराष्ट्र मन्त्रालय, तर तीस दिनसम्मको लागि नियोग वा प्रवेश स्थलस्थित अध्यागमन कार्यालयले (प्रवेश भिसाको रूपमा) कूटनैतिक भिसा दिन सक्नेछ ।
(ख) औपचारिक भिसा परराष्ट्र मन्त्रालय तर तीस दिनसम्मको लागि नियोग वा प्रवेश स्थलस्थित अध्यागमन कार्यालयले (प्रवेश भिसाको रूपमा) औपचारिक भिसा दिन सक्नेछ ।
(ग) पर्यटक भिसा (१) भिसा वर्षमा पन्ध्र दिन, तीस दिन र नब्बे दिनको प्रवेश भिसाका लागि नियोग वा प्रवेश विन्दुको अध्यागमन अधिकृत,
(२) नेपाल प्रवेश गरिसकेका पर्यटकहरुको भिसा म्याद थप तथा नियमित गरिदिनका लागि महानिर्देशक तर प्रस्थानका समयमा एकसय पचास दिनको अबधिभित्रको भए पन्ध्र दिनसम्मको भिसा प्रस्थान विन्दुमा अध्यागमन अधिकृतले नियमित गरिदिन सक्नेछ ।
(घ) अध्ययन भिसा महानिर्देशक,
(ङ) गैर पर्यटक भिसा (१) नियम ८ को खण्ड (छ) बमोजिमको विदेशीको हकमा विदेश स्थित नेपाली राजदूतावास वा
स्थायी नेपाली कूटनैतिक नियोग वा महानिर्देशक,
(२) नियम ८ को खण्ड (ठ) बमोजिमको विदेशीको हकमा नेपाल सरकारको स्वीकृति लिई
महानिर्देशक,
(३) नियम ८ को अन्य खण्ड बमोजिमको विदेशीको हकमा महानिर्देशक
(च) व्यावसायिक भिसा महानिर्देशक,
(छ) अन्तरिम भिसा अध्यागमन अधिकृत,
(ज) आवासीय भिसा पहिलो एक वर्षको लागि गृह मन्त्रालयको स्विकृति लिई विभाग र नवीकरणको लागि विभाग
तर नियम ११ को उपनियम (१) को खण्ड (घ) बमोजिमका विदेशी लगानीकर्ता र निजको आश्रित परिवारलाई उद्योग विभागको सिफारिसमा विभाग ।
(झ) गैर आवासीय नेपाली भिसा पहिलो पटकका लागि गृह मन्त्रालयको स्वीकृतिमा नियोग वा महानिर्देशक र नवीकरणका लागि महानिर्देशक ।
(२) उपनियम (१) को खण्ड (क) र (ख) बमोजिम भिसा दिइएको व्यक्तिहरूको नाम, राष्ट्रियता, राहदानी नम्वर र भिसा अवधि खुलेको विवरण मासिक रूपमा परराष्ट्र मन्त्रालयले विभागलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) को खण्ड (क) र (ख) बाहेक अन्य खण्डहरू बमोजिम नियोगबाट भिसा जारी गर्दा उठेको राजश्वको विवरण मासिक रूपमा परराष्ट्र मन्त्रालयले विभागमा पठाउनु पर्नेछ ।

(४) भिसा दिने अधिकारीले सम्बन्धित निकायहरुबाट भिसाको लागि सिफारिस भई आएकोमा त्यस्तो सिफारिस दर्ता भएको मितिले सामान्यतया ७ दिनभित्र भिसा सम्बन्धी निर्णय गर्नुपर्नेछ ।